काठमाडौं । सर्वोच्च अदालतले फलफूलमा तथा तरकारीमा प्रयोग हुने विषादी परीक्षण कार्ययोजना पेस गर्न सरकारलाई परमादेश दिएको छ ।
न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले परमादेश जारी गरेको हो । नेपालमा पैठारी हुने तरकारी तथा फलफूलमा प्रयोग हुने सबै किसिमका विषादी परीक्षण भन्सार विन्दुमा नै पैठारी गर्नेसम्बन्धी सरकारको निर्णय कार्यन्वयन गर्ने सन्दर्भमा विन्दुहरुलाई प्रयोगशाला स्थापना गर्ने विषयको कार्ययोजना बनाउन आदेश दिएको छ ।
प्रयोगशालामा परीक्षण हुन सक्ने अन्तर्राष्ट्रिय स्तरको आधुनिक उपकरण र दक्ष जनशक्ति उपलब्ध गराउने विषयमा कार्ययोजना समेत बनाउनु पर्ने आदेशमा उल्लेख छ । साथै, देशभित्र उत्पादन हुने तरकारी तथा फलफूलमा प्रयोग हुने विषादीको सीमा निर्धारण र प्रयोगका लागि कार्यविधि तथा मापदण्ड तय गर्ने छुट्टै कार्ययोजना समेत बनाउने बताइएको छ ।
अन्त्यमा त्यसरी स्थापना गरिने मापदण्डको पालना भए नभएको परीक्षण तथा अनुगमन गर्ने विषयलाई पनि कार्ययोजना बनाउन आदेश भएको छ ।उपभोक्ता हित संरक्षणा मञ्चका तर्फबाट विष्णुप्रसाद तिमल्सिनाले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले पाँच बुँदे निर्देशन पनि सरकारका नाममा जारी गरेको छ।
सोही रिटमा आफ्नो निर्णय कार्यन्वयन गर्नका लागि दुई महिनाभित्र कार्ययोजना बनाउन सर्वोच्चले आदेश जारी गरेको हो ।