काठमाडौं । भारतसँग खुला सीमा जोडिएको पश्चिम तराईको जिल्ला कञ्चनपुर औलोको उच्च जोखिममा छ । रोजगारीको सिलसिलामा भारत गएकाहरू फर्किंदा औलो संक्रमित भएर आउने हुँदा कञ्चनपुर औलोको उच्च जोखिममा छ ।
आर्थिक वर्ष २०७९/८० को तथ्याङ्कअनुसार कञ्चनपुरमा स्थानीय लामखुट्टेको टोकाइबाट औलो लागेको वा सरेका बिरामी पाँच र देश बाहिरका औलो जोखिमयुक्त क्षेत्रबाट आउँदा नै औलो लिएर आएको बिरामी १७ छन् ।
सरकारले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य राखेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार आव २०७७/७८ मा १६ स्थानीय र ३१ आयातित गरेर ४७ तथा आव २०७८/७९ मा छ स्थानीय र ३० आयातित गरेर ३६ जनामा औलो संक्रमण देखिएको थियो ।
कञ्चनपुरको भीमदत्त, बेदकोट, दोधारा चाँदनी, बेलौरी, शुक्लाफाँटा र कृष्णपुर औलोले बढी प्रभावित छन् । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यो वर्ष सबैभन्दा बढी बेदकोटमा छ, भीमदत्तमा पाँच, कृष्णपुरमा चार, बेलौरी र दोधारा चाँदनीमा दुई, शुक्लाफाँटा र बेलडाँडीमा एक/एकजना औलाका बिरामी फेला परेका छन् ।