काठमाडौं । गेटा अस्पतालले साउन देखि ओपिडी सेवा दिने तयारी गरेको छ। दुई सय शय्याको अस्पताल चलाउन आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गर्ने प्रस्तावमा प्रधानमन्त्रीले हस्ताक्षर गरेका छन्।
बैशाख ११ गते प्रधानमन्त्री पुष्पकमल दाहालले दरबवन्दी स्वीकृतिको प्रस्तावमा हस्ताक्षर गरेका हुन्।प्रधानमन्त्रीले प्रस्तावमा हस्ताक्षर गरेसँगै सो प्रस्ताव स्वास्थ्य मन्त्रालयको दरबन्दी स्वीकृति गर्न बनेको समितिमा पुगेको छ। त्यो समितिले सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग समन्वय गरेर दरबन्दीको प्रस्तावले अन्तिम रुप लिने छ।
त्यसपछि स्वास्थ्य मन्त्रीले दरबन्दी स्वीकृतिका लागि प्रस्ताव मन्त्रिपरिषद्मा लग्ने छन्। मन्त्रिपरिषद्बाट प्रस्ताव पारित भएपछि गेटामा दुई सय शय्याको अस्पताल चलाउन जनशक्तिको व्यवस्थापन हुने गेटा अस्पतालका निर्देशक डा प्रमोद जोशीले बताए।