काठमाडौं । वार्षिकोत्सवको अवसरमा ईशान बाल तथा महिला अस्पतालले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम अस्पताल र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । इशान बाल तथा महिला अस्पतालका डाक्टर, नर्स तथा बिरामी कुरुवाहरु रक्तदानमा सामेल भएका थिए ।

कार्यक्रममा १२ रक्तदाताले रगतदान गरेको अस्पतालका निर्देशक डा.रामनन्दनप्रसाद चौधरीले बताए । अस्पतालले निकट भविष्यमा नै आफ्नो ब्लड बैंक सञ्चालन गर्ने बताएको छ ।
विगत २८ वर्षदेखी बिरामीहरुको सेवामा समर्पित यस अस्पतालमा ब्लड बैंक स्थापना भएपछि यसले रक्त सेवा प्रवाहमा थप फाइदा पुग्ने अस्पताल प्रशासनको दाबी छ । अस्पतालको आफ्नो ब्लड बैंक सञ्चालन गर्न आवश्यक पूर्वाधार व्यवस्थापन भइसकेकाले चाँडै ब्लड बैंक सञ्चालन गरी आवश्यक पर्ने रगतको व्यस्थापन गरिने अस्पतालका महाप्रबन्धक भक्तबहादुर शाहीले बताए ।

