काठमाडौं । ‘लम्पी स्किन’ रोगका कारण किसानहरू चिन्तित छन्। पछिल्लो समय यस रोगले महामारीको रूप लिने संकेत देखिन थालेपछि दैलेखका किसानहरू चिन्तित बनेका हुन् । कर्णालीका सात जिल्लामा गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ नामक रोग फैलिएको छ।
सुरुमा गाई र गोरुमा मात्रै देखिएको ‘लम्पी स्किन’ पछिल्लो समय भैँसीमा समेत देखिएको छ। कर्णालीका १० जिल्लामध्ये सात जिल्लामा यो रोग महामारीका रूपमा फैलिरहेको छ । दैलेख, सुर्खेत, जाजरकोट, सल्यान, रुकुम पश्चिम, कालिकोट र हुम्लामा ‘लम्पी स्किन’को प्रकोप देखिएको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
यसमध्ये पनि सबैभन्दा बढी सल्यान र दैलेख जिल्ला प्रभावित बनेको छ । हुम्लामा पनि पछिल्लो चरणमा यो रोग देखिएको जानकारी आएको छ । संक्रामक यो रोगका कारण किसानले पालेका दुधालु गाई र भैँसी बिरामी पर्ने गरेका छन् । कतिपय ठाउँमा चौपाया मरेको रिपोर्ट मन्त्रालयमा आएको जनाइएको छ।