काठमाडौं। कर्णालीका १० जिल्लामध्ये सबैभन्दा बढी मुगुका नागरिकहरु स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आइरहेका छन्। विगतका वर्षहरुमा रोग र भोकले थला परिरहने मुगुवासी अहिले सामान्य औषधि सेवा समेत पाउन तड्पिनुपरेको छ।
सामान्य नागरिकलाई सिटामोलसमेत किन्न पैसा नभएको सुन्दै आए पनि अहिले भने जिल्ला अस्पताल मुगुमा औषधि किन्ने पैसा छैन। नेपाल सरकार बाट ९८ प्रकारका ओैषधि निःशुल्क रुपमा वितरण गरे पनि मुगाली नागिरक र अस्पतालमै यी ओैषधिकै अभाव रहेको छ। दर्जनौँ प्रकारका औषधि अभाव भइरहँदा अस्पतालसँग भने औषधि किन्ने पैसा नै नभएको जिल्ला अस्पताल मुगुले जनाएको छ।
‘गत वर्ष औषधि खरिदको लागि छुट्याइएको १० लाख रुपैयाँ गत कात्तिक महिनासम्म पुग्यो । तर, अहिले औषधि खरिद गर्ने पैसा छैन,’ निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक भुवन पुरीले भने,’ अस्पतालमा औषधि नहुँदा कतिपय बिरामीलाई सेवा दिनै सकिँदैन । औषधि खरिदको लागि विभिन्न निकाय तथा सामाजिक विकास मन्त्रालयसँग पहल गर्दा पनि सुनुवाई भएन ।’
नेपाल सरकार राष्ट्रिय बीमा बोडले बिमा गरेका बिमितहरुलाई निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था गरेको छ । उपचारबापत पाउने रकम हालसम्म निकासा नगर्दा ओैषधि अभाव देखिएको र मासिक रुपमा चार लाख खर्च हुने गरेको प्रमुख पुरीले बताए।