काठमाडौं । बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी छात्राले आत्महत्या गरेपछि चितवन मेडिकल कलेज तनावग्रस्त बनेको छ। घटनाको विरोधमा विद्यार्थीले अस्पतालको डेन्टल ओपीडी सेवा ठप्प पारेका छन्।
बीडीएस चौथो वर्ष अध्ययनरत विद्यार्थी सिम्रन थापाले बुधबार आफ्नै कोठामा अत्महत्या गरेकी थिइन्। परीक्षा दिइरहेकी थापालाई कलेजका शिक्षकले जबरजस्ती परीक्षा हलबाट निकालेर तनाव दिएको र सोही कारण उनले कोठामा गई आत्महत्या गरेको आरोप विद्यार्थीहरुको छ।
उनीहरुले घटनाको छानबिन गरी दोषी शिक्षकलाई कडा कारबाही गर्नुपर्ने माग राखेका छन्। पीडितले न्याय नपाएसम्म मेडिकल कलेजको सम्पूर्ण ओपीडी सेवा अनिश्चितकालका लागि बन्द भएको विद्यार्थी संघर्ष समितिले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।