काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपद् व्यवस्थापनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने तयारीमा कुनै कमी नहुने बताएका छन् ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बस्नेतले विपद्लाई समयमै व्यवस्थापन गर्न ध्यानाकर्षण गराउँदैं यस्तो बताएका हुन् ।
बैठकमा गृहमन्त्री श्रेष्ठले त्यसका लागि सबै निकायबीच सामूहिक प्रयास तथा सहकार्यको खाँचो भएको बताएका छन्।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्षसमेत रहेका उनले भने, ‘विपद्लाई शून्य बनाउन सकिन्न, न्यून गर्न सक्छौँ, त्यसका लागि अगाडि नै सही व्यवस्थापन गर्नुपर्छ, सबैले गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था छ ।’ उनले यथास्थिवादी सोचले मात्रै काम गर्न नसकिने स्पष्ट पारे ।
उनले विपद् जोखिम व्यवस्थापनको तयारीमा कमी भएको गुनासा रहेकाले आवश्यक पूर्वतयारीलाई प्रभावकारी बनाउन सरोकारराख्ने मन्त्रालय र निकायका अधिकारीहरुको ध्यानाकर्षण गराए । ‘भएका निर्णय ठीक ढङ्गले कार्यान्वयन नभएर वा तयारी नपुगेर विपद व्यवस्थापनमा समस्या भयो भन्ने कुरा नआयोस्’, बैठकले उनले भने ।