एजेन्सी । निगुरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ । बालबालिका र गर्भवती महिलालाई त निगुरो झनै बढी लाभदायक छ ।
किनभने निगुरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिक रुपमै प्राप्त हुन्छ । अतिरिक्त भिटामिनको चक्की चपाइरहनु पर्दैन ।यतिबेला बनजंगलमा निगुरो पाइन्छ । कतिपयले जंगलबाट खोजेरै निगुरोको तरकारीले छाक टार्ने गर्छन् ।
निगुरो बनजंगलमा आफै पलाउँछ । यो उन्यु प्रजातिको घाँस हो । पहाड र तराई सबैतिरको जंगलमा निगुरो पाइन्छ । तर, यसको जातमा केही भिन्नता हुन्छ । साथै स्वाद पनि फरक हुन्छ । तुलनात्मक रुपमा पहाडको जंगलमा पाइने निगुरो बढी स्वादिलो हुन्छ ।
निगुरोलाई कतिपय ठाउँमा न्युरो वा निहुरो पनि भनिन्छ । पहाडमा कालो निगुरो बढी रुचाइन्छ । यसैगरी तराईमा हरियो । निगुरो यतिबेलाको मौसमी सागसब्जी हुन् । बनजंगलमा आफै उम्रने भएकाले यसमा कुनै रासयनिक मल वा विषादी प्रयोग हुँदैन ।
निगुरो तरकारीको रुपमा प्रयोग गरिन्छ । नेपालीको सायदै यस्तो भान्सा होला, जहाँ निगुरो पाकेको छैन । वर्षायाम लागेसँगै कतिले बनजंगलबाट खोजेर र कतिले बजारबाट किनेर निगुरो पकाउने गर्छन् । निगुरोलाई भुटेर वा आलुसँग मिसाएर पनि सेवन गर्न सकिन्छ ।