काठमाडौं । पछिल्लो समय आयुर्वेदिक उपचारप्रति बिरामीको आकर्षण बढ्न थालेको छ । प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा बिरामीको आकर्षण बढ्न थालेको हो । दैनिक २ सय ५० जनाको हाराहारीमा बिरामी आउने गरेको प्रादेशिक आयुर्वेद चिकित्सालयले जनाएको छ ।
औषधिदेखि लिएर जीवनशैलीसम्बन्धी सबै परामर्श हुने भएकाले आयुर्वेद उपचारमा आकर्षण बढ्दै गएको प्रादेशिक आयुर्वेद चिकित्सालयका बैद्य निरीक्षक तथा सूचना अधिकारी सुरेन्द्रबहादुर शाहीले बताए ।
उनले भने, ‘यसअघि प्रदेशस्तरमा ठूलो आयुर्वेद अस्पताल थिएन अहिले सेवा विस्तार भएको छ, नसर्ने रोगका लागि आयुर्वेदमा औषधिदेखि लिएर जीवनशैलीसम्बन्धी परामर्श हुन्छ, त्यसैले यसमा आकर्षण बढी नै छ ।’
एलोपेथिक औषधिको साइड इफेक्ट बढी हुने र आयुर्वेद औषधिको साइड इफेक्ट कम हुने भएकाले पनि बिरामीको संख्या बढ्दै गएको उनले बताए । पेटको रोग, बाथ रोगका बिरामी बढी आउने गरेको शाहीले बताए ।
सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट विरामी आउने गरेको चिकित्सालयले जनाएको छ । चिकित्सालयले २०७९ असोज ११ गतेबाट सेवा सुरु गरेको थियो । सुरुसुरुमा १ सय ५० जनाको हाराहारीमा बिरामी आउने गरेको भए पनि अहिले झण्डै २ सय ५० को हाराहारीमा बिरामीले ओपिडी सेवा लिने गरेको सूचना अधिकारी शाहीले बताए।