काठमाडौं। धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत डाक्टर प्रशन्ना शाह मृत्यु प्रकरणमा जोडिएको आरोपमा प्रहरीले थप एक व्यक्तिलाई पक्राउ गरेको छ।
मायामेट्रोमै कार्यरत डाक्टर सन्दिप भट्टराईलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो । डाक्टर शाह बिहीबार घरमै मृत फेला परेपछि परिवारले भट्टराई र धनगढीकै विकल केसीविरुद्ध आत्महत्या दुरूत्साहन मुद्दा दिएका थिए । केसी पहिले नै प्रहरीको सम्पर्कमा पुगे पनि भट्टराईलाई प्रहरीले पक्राउ गरेको थिएन।
मृतक शाहका परिवारले दुबै जनालाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने माग राखे पनि कैलाली प्रहरीले शनिबार दिउँसोसम्म भट्टराईलाई समात्न नसकेको भन्दै गुनासो गरेका थिए । घटनामा नाम जोडिएका व्यक्ति बाहिर बस्दा प्रमाण मेटाउन सक्ने भन्दै तत्काल प्रकाउ गरेर अनुसन्धान थाल्न परिवारको माग थियो। भट्टराई शनिबार साँझ साढे चार बजे प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।