काठमाडौं । विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले वृहत यौनिकता शिक्षालाई समय अनुसार विभिन्न तहको पाठ्यक्रममा समावेश गरिने बताएका छन् ।
नेपालमा पहिलो पटक यौनिकता सम्बन्धी आयोजना गरिएको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् । उनले पाठ्यक्रममा पनि यौनिकता शिक्षाको बिषयबस्तु हेरफेर गरिने बताए ।
सम्मेलनको उद्घाटन समारोहमा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्ररमण सिंहले यौनिकता शिक्षासँगै उनीहरुका लागि सहज ढंगले परिवार नियोजनका सेवा उपलब्ध हुनु पर्नेमा जोड दिदै स्वास्थ्य मन्त्रालयले यस क्षेत्रमा काम गरिरहेको बताए । स्वास्थ्य र शिक्षा एक अर्कामा जोडिएको बिषय भएको बताउदै डा. सिंहले दुबै मन्त्रालयको सहकार्यमा सम्मेलन हुनु र यसबाट प्राप्त सुझाव भविश्यका लागि मार्गदर्शन हुनेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा युएनएफपीएकी नेपाल प्रतिनिधि यङ होङले शिक्षा र स्वास्थ्य नै नयाँ पुस्ताको लागि परिवर्तनको आधार स्तम्भ भएको बताउदै राज्यले शिक्षामा लगानी बढाउनु पर्ने सुझाव दिइन । यौनिकता शिक्षा सबैका लागि उत्तिकै आवश्यक भएकोले राज्य यस बिषयमा संवेदनशिल भएर लाग्नु पर्नेमा होङले जोड दिईन् ।
नेपाल परिवार नियोजन संघका अध्यक्ष हिमाल कसजूले नेपालमा पहिलाृे पटक वृतह यौनिकता शिक्षा सम्बन्धि राष्ट्रिय सम्मेलनले उत्साह थपेको बताएका छन् । संघले यौनिकताको बिषयमा पैरवी गर्दा लखेटिनु पर्ने अवस्था समेत आएको बिगत स्मरण गर्दै अहिले वृहत यौनिकताका बिषयमा किशोर किशोरीसँगै बसेर छलफल गर्न पाउदा आफूहरुले सुरु गरेको अभियानले सफलता पाएको उनको दाबी थियो ।