काठमाडौं । प्रत्येक वर्ष साउन लागेसँगै हरिया–पहेँला चुरा, मेहेन्दीले युवतीहरू सजिन्छन् । महिलाहरूले यसरी चुरा लगाउनुको कारण धार्मिक आस्था हो । श्रावणमा हरियो चुरा र कपडा लगाउनाले भाग्य प्रभावित हुने विश्वास छ ।
साउन महिना हरियालीको महिना पनि हो । हरियो चुरा र साडी लगाएर नारीले शिव भगवानको विशेष पूजा अर्चना गर्छन् । जसका कारण आफू र पतिको आयु बढ्ने विश्वास रहि आएको छ । साउनमा हरियो पहिरिँदा शिव भगवान् खुसी हुने धार्मिक विश्वास छ । जब भक्तले स्वयंलाई प्रकृतिसँग नजिक ल्याउँछन्, तब भगवान् शिवले उनीहरूको मनोकामना पूरा गर्ने विश्वास गरिन्छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीक मानिन्छ ।
साउनमा हरियो रंगको चुरा पहिरिने महिलासँग भगवान् विष्णुसमेत प्रसन्न हुने मिथ छ । हरियो रंग प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक ऊर्जा वृद्धिको प्रतीक हो । हरियो उपचारको रंग पनि हो, जुन मुटुसँग जोडिएको हुन्छ । उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ । यस्तै विश्वास र भक्तिसँगै यस वर्षको साउन पनि सुरु भएको छ । महिलाको हातमा असारको अन्तिम सातादेखि नै हरियो तथा पहेँलो चुरा खन्किन थालेको छ । विभिन्न सामाजिक सञ्जालमा महिलाले हरियो, पहेँलो चुरा तथा मेहेन्दी लगाएको फोटो सार्वजनिक गरिरहेका छन् ।
महिलाको आस्थालाई सम्मान गर्दै विभिन्न कार्यालयले पनि आफ्ना महिला कर्मचारीलाई हरियो चुरा तथा नङपालिस दिने गरेको पाइन्छ । चुरासँगै विवाहित नारीले पोते र हातमा मेहेन्दी लगाएको पाइन्छ । यस्तो प्रचलन पछिल्लो समय झनै बढेर गएको छ । यसको धार्मिक आस्था बुझेरभन्दा पनि फेसनका निम्ति लगाउने युवतीहरू पनि त्यत्तिकै छन् ।
साउनमा हरियोको महत्त्व
साउनमा विवाहित महिलाले हरियो रंगको चुरा, पोते, सारी वा हरियो रंग धारण गर्दा परिवारमा खुसी बढ्ने तथा श्रीमानको भविष्यमा राम्रो प्रभाव पर्ने मान्यता छ । बुध ग्रहको प्रभाव व्यक्तिको भविष्य र व्यवसायमा रहने गर्दछ । यस रंगलाई शरीरमा धारण गर्दा मनुष्य आफ्नो क्षेत्रमा सफल हुने विश्वास गरिन्छ । हिन्दु मान्यता र ज्योतिष शास्त्रअनुसार हरियो रंगलाई बुध ग्रहको प्रतीक मानिन्छ ।
तसर्थ, हरियो रंग धारण गर्दा बुध बलियो हुने विश्वास छ । बुध बलियो हुँदा मानिसले सन्तान सुख प्राप्त गर्ने तथा बुद्धि र समृद्धिलाई बढवा दिने मान्यता छ । भगवान् शिवलाई प्रसन्न पार्न र शिव कृपा पाउन पनि हरियो रंग धारण गर्ने चलन छ । शिव आफैंमा योगी भएकाले हरियो प्रकृति र यसको रंगले शिवलाई चाँडै प्रसन्न पार्ने विश्वास छ । तसर्थ महिलाहरू साउनमा हरियो मेहेन्दी, चुरा, पोते र साडी लगाउने गर्दछन् ।