डेङ्गु सुरुवा रोग हैन तर यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेङ्गु लक्षणहरूका बारेमा चर्चा हुने गरेको देखिए तापनि अधिकांश सङ्क्रमितहरू लक्षण वाकेर नै आफ्नो कार्यक्षेत्रमा खटिरहेका पनि देखिन्छन् । कतिपय भने घरमा नै आराम गरेर स्वास्थलाभ गरिरहेका अवस्था छ ।
डेङ्गुका लक्षणहरूका बारेमा धेरै सुनेको र व्यापक प्रचार भएको पनि देखिन्छ तर जटिलता निम्त्याउन सक्ने सङ्केत हरुका बारेमा भने कमैलाई थाहा भएको देखिन्छ । सन् २०२२ मा अधिकांश डेङ्गुबाट मृत्यु भएकाहरू भर्ना हुँदा नै जटिल डेङ्गु लिएर आएका तथ्याङ्क देखिन्छ तर हामीले विगतमा देखिएका कमीकमजोरीबाट सिकेर आगामी दिनहरूमा डेङ्गुको मृत्युदरलाई घटाउने कोसिस गर्नुपर्दछ । यसर्थ डेङ्गु मृत्युदर वा जटिलता घटाउने एक मुख्य उपायमध्ये ‘जटिल डेङ्गु’ का पूर्व सङ्केतहरूका बारेमा थाहा पाउनु पनि आवश्यक छ ।
अधिकांश डेङ्गु सङ्क्रमितमा सुरुमा ‘फेब्राइल फेज’ देखिने गर्दछ । यसमा मुख्यतयास् टाउको दुख्ने, जीउ दुख्ने, जोर्नी वा मांसपेशीका दुख्ने र खाना खान पटक्कै मन नलाग्ने हुन्छ । त्यस्तै, ज्वरो आउने, आँखाको गेडी दुख्ने वा खस्ला जस्तो हुने, शरीरमा स–साना राता बिमिराहरू देखिने, पखाला लाग्नेजस्ता समस्या पनि देखिने गर्दछ । कतिपयलाई खोकी पनि लागेको देखिन्छ । तर खोकी डेङ्गुको कारणले हो वा फ्लु भाइरसले गर्दा हो भनेर छुट्टाउने गरेको भने देखिँदैन । वास्तवमा हाल फ्लुको सिजन पनि हो भने कोभिडको सङ्क्रमण पनि सँगसँगै देखिएको छ । ‘फेब्राइल फेज’ औसतमा झन्डै आठदेखि १० दिनमा देखिने गर्दछ । ज्वरो घटेको २४ देखि ४८ घण्टा बिरामीमा ‘जटिल डेङ्गु’ देखिने सक्ने सम्भावना प्रबल रहन्छ ।
‘जटिल डेङ्गु’ का पूर्व सङ्केतहरू के के हुन् त ?
- तारन्तार बान्ता हुनु,
- असाध्य पेट दुख्नु,
- नाक वा गिजाबाट रगत बग्नु,
- बेचैनी हुनु वा अत्यन्त कमजोर हुनु आदि ।
माथि उल्लिखित लक्षण वा सङ्केतहरू घरमा सङ्क्रमित भएर बसिरहेको बेला देखिन वा थाहा पाउन सकिन्छ । तसर्थ, यस्ता सङ्केतहरू देखिए तुरुन्त स्वस्थ केन्द्र वा अस्पतालमा जानुपर्दछ । अस्पतालमा जाँच गर्दा थप सङ्केतहरू देखिने गर्दछ । परीक्षणबाट कलेजो आकार बढेको वा सुन्निएको तथा छाती वा पेटमा पानी भएरनभएको थाहा हुन्छ । रगतको जाँच गर्दा प्लेटेलेट्स तीव्र गतिमा घट्नु र हेमाटोकृत बढेको देखिन्छ । डेङ्गुको सङ्क्रमण भएको बिरामीलाई कमजोरी अनुभव हुन्छ । डेङ्गु लागेपछि रगतमा प्लेटलेट्सको सङ्ख्या तीव्र रुपमा घट्न थाल्छ । यस्तो अवस्थामा औषधिका साथसाथै खानपान र सही दिनचर्या आवश्यक हुन्छ ।
नेपालमा डेङ्गु सँगसँगै चिकुनगुनिया भाइरस, स्क्रब टाइफस, फ्लुजस्ता थप सङ्क्रमणहरू फैलने गर्दछ । यसर्थ, ज्येष्ठ नागरिक, सह–सङ्क्रमित वा उच्च रक्तचाप, मधुमेह र श्वास–प्रश्वास (दीर्घ वा हालै सङ्क्रमित भएको अवस्था)समस्या भएका व्यक्तिहरूले ‘जटिल डेङ्गु’ का पूर्व सङ्केतलाई कुर्नै वा देखिनु नै पर्छ भन्ने छैन । यस्तो अवस्थामा चिकित्सकको निरन्तर सम्पर्कमा रही आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनु अति बुद्धिमानी हुनेछ । डेङ्गुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो । किनभने यसको टोकाइ एवं सङ्क्रमण निकै घातक हुन सक्छ ।
अधिकांशलाई डेङ्गुको लक्षण देखिएको ८–१० दिनमा स्वास्थ्यमा सुधारोन्मुख देखिन्छ भने केहीमा डेङ्गुले जटिल अवस्था सिर्जना गर्न सक्दछ । तसर्थ ‘जटिल डेङ्गु’ का पूर्वसङ्केतहरु सङ्क्रमितले थाहा पाउन अति आवश्यक देखिन्छ र सो देखिए तुरुन्त चिकित्सकसँग सम्पर्क गर्न सक्छन् । हाल डेङ्गु सङ्क्रमणको लहर रोक्न विभिन्न कारणले गर्दा चुनौती रहेको भए तापनि ‘जटिल डेङ्गु’ का पूर्व सङ्केतलाई ध्यान दिनसक्ने हो भने डेङ्गुबाट हुनसक्ने मृत्युदरलाई उल्लेखनीय सङ्ख्यामा कम गर्न सकिन्छ । हालसम्म रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा सामाजिक सञ्जालहरूमा डेङ्गु के हो, कसरी सर्छ र यसका लक्षणहरूका बारेमा जानकारीहरू दिने गरेको देखिए तापनि अबको प्रचारप्रसार तथा जानकारीहरू ‘जटिल डेङ्गु’ का पूर्व सङ्केतका बारेमा केन्द्रित हुनुपर्ने देखिन्छ । यसबाट डेङ्गुबाट हुने मृत्युदरलाई उल्लेखनीय रुपमा कम गर्न सकिनेछ । यो नै अहिलेको प्रमुख आवश्यकता र सघन माग पनि हो ।