काठमाडौं । माइग्रेन एउटा यस्तो अवस्था हो, जसमा टाउको दुखाइ सामान्य हुँदैन, ज्यानै जाला जस्तो हुन्छ। यो स्नायुसम्बन्धी समस्या हो। यसले तीव्र पीडा र असहजता निम्त्याउँछ। माइग्रेनका लागि चिकित्सा उपचार उपलब्ध भए तापनि, दुखाइ नियन्त्रण गर्न आफ्नो आहारमा ध्यान दिनु आवश्यक छ। स्वास्थ्य सुधार गर्न आहार महत्त्वपूर्ण छ र सही खानेकुरा खाँदा लक्षणहरू नियन्त्रण गर्न मद्दत पुग्न सक्छ।
केही खानेकुराहरूले शरीरलाई आवश्यक पोषकतत्त्व प्रदान गरेर माइग्रेनलाई कम गर्न सक्छन्। आजको यस लेखमा हामी माइग्रेनको समयमा खानपानमा समावेश गर्दा लाभदायक हुन सक्ने खानेकुराबारे चर्चा गर्नेछौंस्
केरा: केरा म्याग्नेसियम र पोटासियमको राम्रो स्रोत हो। म्याग्नेसियमको कमीलाई केही मानिसहरूमा माइग्रेनको बढ्दो जोखिमसँग जोडिएको छ। यसबाहेक केरा सजिलै पचाउन सकिन्छ र यसले ऊर्जा प्रदान गर्दछ।
पालुङ्गो र हरियो पातदार तरकारी: पालुङ्गो, मेथी र अन्य हरियो पातदार तरकारीहरू म्याग्नेसियम, फोलेट र एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छन्। यी पोषकतत्त्वहरूले स्नायु र मांसपेशीहरूलाई बलियो बनाउँछन् र शरीरमा सुन्निने समस्या (सूजन) कम गर्न पनि मद्दत गर्छन्।
बदाम र ओखर: बदाम र ओखरजस्ता सुक्खा फलफूल (ड्राइ फ्रुट्स) मा म्याग्नेसियम, स्वस्थ बोसो र भिटामिन ‘ई’ पाइन्छ। माइग्रेनको दुखाइ कम गर्न तपाईंले यी दुवै दैनिक खान सक्नुहुन्छ।
अदुवा: अदुवामा प्राकृतिक एन्टी–इन्फ्लेमेटरी गुणहरू हुन्छन्। अदुवाले वाकवाकी लाग्ने र बान्ताजस्ता माइग्रेनसँग सम्बन्धित लक्षणहरू कम गर्न मद्दत गर्ने विभिन्न अध्ययनहरूले देखाएका छन्।
माइग्रेनको बेलामा के नगर्ने ?
अत्यधिक क्याफिनको सेवनबाट बच्नुपर्छ। यसले तपाईंको स्वास्थ्यलाई असर गर्न सक्छ। यस समयमा रक्सीको सेवन पनि गर्नुहुँदैन। रक्सी जस्तोसुकै अवस्थामा पनि स्वास्थ्यका लागि हानिकारक छ। प्रशोधित र प्याकेटमा आउने खानेकुरा खाँदा दुखाइ बढ्न सक्छ। तिनीहरूमा पाइने रसायनहरूले दुखाइ बढाउँछन्।
माइग्रेन कम गर्न सघाउने केही बानी:
- दिनभरि प्रशस्त पानी पिउने।
- दिउँसोको खाना वा बेलुकाको खाना समयमै खाने।
- दैनिक ८ घण्टा राम्रो निद्रा लिनुहोस् र तनावबाट टाढा रहने।
- दुखाइ कम गर्न योग, ध्यान वा गहिरो सास फेर्ने अभ्यासहरू गर्ने।
- माइग्रेन दोहोरिन्छ वा दुखाइ गम्भीर छ भने, न्युरोलोजिस्टसँग परामर्श गर्ने।
(नोट: सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो चिकित्सकसँग परामर्श गर्नुहोस्।)