काठमाडौं । खोप केन्द्रलाई व्यवस्थित र सुरक्षित बनाउन विज्ञले आग्रह गरेका छन् । खोप लगाउनकै लागि भीड बढ्दा यसले झन् सङ्क्रमण फैलिन सक्ने जोखिम भएकाले भीडभाड नहुने गरी अभियान सञ्चालन गर्न विज्ञको आग्रह हुन ।
सङ्क्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले खोप केन्द्रको सङ्ख्या बढाउने, पालैपालो खोप लगाउन बोलाउने र खोप लगाउन जाने नागरिकले पनि अनावश्यक भीडभाड नगर्ने हो भने खोप केन्द्रलाई सहज बनाउन सकिने बताए ।
चीनबाट खरिद गरिएको भेरोसेल खोप आउन थालेपछि सरकारले जिल्ला प्रशासन कार्यालय र पालिकामार्फत खोप अभियान सञ्चालन गर्दै आएको छ । सरकारले आउँदो असोज मसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा खोप आइसक्ने जनाएको छ ।