काठमाडौं- कोरोना भाइरस विरुद्धका भरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाउन शुरु गरिएको छ ।
भेरोसेल खोपको पहिलो मात्रा लगाएर बसेकाहरुलाई लक्षित गरी दोश्रो खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको हो ।
पहिलो मात्रा लगाएको २१ दिन पुगेका सबैलाई दोस्रो मात्राको खोप दिन लागिएको हो । यो चरणमा गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई खोप लगाइने छ ।
दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ । अहिलेसम्म नेपालमा करिब ९७ लाख खोप आइसकेको छ भने २० लाख दुई हजार ७ सय ३ पूर्ण र ४२ लाख ५४ हजार ५ सय ४० पहिलो मात्रा खोप लगाइसकेका छन् ।
यसैबीच सरकारले साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले विभिन्न मुलुकहरुबाट खोप आउदै गरेको भन्दै साउन २५ गतेदेखि खोप सप्ताह मनाउन लागिएको जानकारी दिनुभएको हो ।-