काठमाडौं- सरकारले सोमबारदेखि पहिलो डोज कोभिशिल्ड खोपको मात्रा लगाएकाहरुलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप दिने भएको छ। त्यसका लागि सरकारले काठमाडौं उपत्यकाको हकमा १४४ वटा खोप केन्द्रहरु तोकेको छ ।
स्वास्थ्य कार्यालय काठमाडौले प्रकाशित गरेको सूचना अनुसार खोप सोमबार र मंगलबारगरि दुई दिन दगाइने छ । कोभिडविरुद्धको एस्ट्राजेनेकाको खोप तोकिएको लक्षित समूहलाई दोस्रो मात्रा जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना हुनेगरी लगाउन कार्यालयले आग्रह गरको छ ।
यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइनेछ।
यस्तै, स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई मात्र खोप प्रदान गरिनेछ। सोहीअनुसार खोप अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरुलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी समेत स्वास्थ्य कार्यालयले दिएको छ ।
खोप लगाउन जाँदा पहिलो डोज खोप लगाएको प्रमाणपत्र र अन्य परिचय खुल्ने कागजपत्र साथमा लानुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।