काठमाडौं । नेपालमा ६८ दशमलब ६ प्रतिशत व्यक्तिमा कोभिड-१९ को एन्टीबडी देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको सर्वेक्षणमा ५ महिनाभन्दा माथि उमेरसमुहका १३ हजार १६१ जनामा गरेको सेरो प्रिभिलेन्स सर्वेमा ६८ दशमलब ६ प्रतिशत कोभिड एन्टीबडी देखिएको हो। देशभरीका ६ महिनाभन्दा बढी उमेरका देशका सबै भूगोल, लिंग र उमेर समूहलाई समेटेर १३ हजार एक सय ६१ जनाबाट संकलन गरेका नमुना परीक्षणका आधारमा यो नतिजा निकालिएको जनाएको छ ।
सर्वेक्षण अन्तर्गत असार र साउनमा नमुना संकलन गरिएको थियो । सर्वेक्षण अनुसार एक मात्रा मात्र खोप लगाएका व्यक्तिहरू ८० प्रतिशतमा र पूर्णमात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टीबडी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
अझै पनि कोरोना महामारीको खतरा कायम रहेको र भाइरसले आफ्नो रुप परिपर्वत गरहने जोखिम कायम रहेकाले संक्रमण रोकथाम र नियन्त्रण प्रभावकारी उपाय भएकाले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, भीडभाड कम गर्ने र सरसफाईमा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।