एउटी किशोरी हुर्कदै जाने क्रममा उनीहरुका शरीरमा विभिन्न प्रकारका परिवर्तनहरु देखिन थाल्छन् । छाती आकार बढ्नु, मासिक श्राव हुनु जस्ता कुराहरुले उनी जवान भएको संकेत दिन्छ । हिजोआज किशोरीहरुमा १०-१२ वर्षमा नै महिनावारी हुन थालेको छ ।
शारीरिक विकास एउटा चरणमा पुगेपछि महिलामा रजस्वला सुरु हुन्छ । यसलाई ‘महिनावारी’ पनि भनिन्छ । साधारणतया किशोरी अवस्थामा पुगेपछि महिलामा महिनावारी सुरु हुन्छ । महिनावारी सुरु हुनुलाई महिला शारीरिक रुपमा परिपक्व भएको प्राकृतिक संकेतका रुपमा पनि बुझिन्छ ।
महिनावारीका बेला के गर्ने ?
- महिनावारी भएको बेला पुरुषले आफ्नो पार्टनरलाई कामकाजमा सहयोग गर्नु पर्दछ ।
- यो बेला महिलामा शारिरिक र मानसिक परिवर्तन हुने हुदाँ उनको मुडलाई बुझ्नु पर्दछ ।
- महिनावारीमा महिलामा चिड्चिडापन बढ्ने गर्दछ, त्यसैले उनलाई दिक्क लगाउनु हुदैँन ।
- महिनावारी हुँदा पेट दुख्छ त्यसैले यसलाई समाधानको कोशिस गर्नु पर्दछ ।
- यो बेला श्रीमानले हट वाटर ब्याग दिएर पेट दुखाईबाट राहत पाउन सघाउनु पर्दछ ।
- डार्क चकलेटमा हुने फ्लेवनाइड्सले मूडलाई राम्रो बनाउँछ, त्यसैले यो ख्वाउन सकिन्छ ।
- केरा, मेवा जस्ता फलफूल र हरिया तरकारीले महिनावारीको समस्यालाई कम गर्दछ ।
- महिनावारीमा कम्मर दुख्ने हुन्छ त्यसैले हल्का हातले मसाज गर्दा यसले राहत दिन्छ ।
- यो बेला हल्काफूल्का व्यायाम वा योगाबाट पेट र ढाड दुखाईबाट राहत प्राप्त हुन्छ ।
- महिनावारी हुँदा शरिरमा जति पानी हुन्छ, पीडा त्यति नै कम हुने गर्दछ ।
- पार्टनरलाई महिनावारी हुँदा धेरै काम गर्न नदिने, आराम गर्दा समस्या कम हुन्छ ।
- यो बेला पार्टनरलाई चिया–कफी वा मसालेदार खानेकुरा नदिने । यसले पीडा बढाउँछ ।
- यदि रक्तश्राव अत्यधिक भइरहेको छ भने तुरुन्तै डाक्टरलाई भेट्न जानु पर्दछ ।
महिनावारी हुँदा ध्यान दिनुपर्ने विषय हरु
- महिलाको शरीरमा भएका रसरागको मात्रामा आउने परिवर्तनका कारण महिनावारी हुने गर्छ । यो एउटा प्राकृतिक प्रकिया हो, जसले महिला प्रजनन स्वास्थ्यका लागि परिपक्व भएको संकेत गर्छ । महिनावारीका समयमा महिलामा शारीरिक परिवर्तन देखा पर्ने भएकाले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । सरसफाइमा ध्यान दिने, पोषिलो खानेकुरा खाने, आराम गर्ने गर्नुपर्छ ।
- महिनावारीका समयमा सामान्य ढाड वा पेट दुख्नु र थकान महसुस हुनु सामान्य मानिन्छ । तर, कतिपयमा सहनै नसकिने गरी तल्लो पेट दुख्ने समस्या हुन्छ । जसबाट किशोरीहरू बढी प्रभावित हुने गर्छन् । अविवाहित युवतीमा महिनावारी हुँदा सहनै नसक्ने गरी पेट दुख्ने, वाकवाकी लाग्ने, कम्मर वा ढाड दुख्ने, खान मन नलाग्ने र दैनिक काम गर्नसमेत गाह्रो हुनेजस्ता जटिलता देखा पर्छन् । करिब ४० प्रतिशत किशोरीमा १३–१४ वर्षदेखि १७–१८ वर्षको उमेरमा महिनावारी नियमित नहुने वा रक्तश्राव बढी हुने समस्या रहेको पाइन्छ । जसले गर्दा दैनिकी नै प्रभावित भइरहेको हुन्छ ।
- महिनावारीका समयमा खानपानमा सजग हुन आवश्यक छ । यद्यपि, कुन उमेरसमूह भन्नेमा पनि निर्भर गर्छ । जस्तै, भर्खरै महिनावारी सुरु भएका किशोरीमा आवश्यक पोषणको अभाव हुने गर्छ । उनीहरूलाई विशेषगरी अन्डा, मासुजस्ता पोषणयुक्त खानेकुराको आवश्यकता पर्छ । रक्तअल्पताबाट बच्न नियमित रूपमा आइरन, फोलिक एसिड सेवन गर्नुपर्छ ।
- रक्तश्राव भइरहेको समयमा सकेसम्म आराम गर्नुपर्ने हुन्छ । यो समयमा शारीरिक परिश्रम कम गर्नुपर्छ । सकेसम्म गह्रौँ सामान उठाउनु हुँदैन । महिनावारीका समयमा शारीरिक कमजोरी देखिने हुँदा शारीरिक परिश्रम धेरै गर्नुपर्ने कामबाट टाढा रहनु राम्रो हुन्छ ।
- अझ शारीरिक परिश्रम बढी हुने भएकाले खेलाडीहरू स्वास्थ्यप्रति सजग रहन आवश्यक हुन्छ । आरामको समय बढाउने र चिकित्सकको सल्लाह लिने गरेमा महिनावारीको समयलाई सहज बनाउन सकिन्छ ।
महिनावारीका बेला महिलाले किचनमा जान नहुने, खानपिनका वस्तुहरु छुन नहुने जस्ता भ्रममा पर्नु हुदैँन । यसमा कुनै पनि वैज्ञानिक आधार छैन । केवल सफाईमा ध्यान दिएर महिलाले अन्य बेलामा झै जे पनि काम गर्न मिल्दछ ।
एजेन्सीको सहयोगमा