काठमाडौँ, भदौ २१ गते । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले छिट्टै थप एक करोड मात्रा कोरोनाविरुद्धको खोप ल्याउने बताउनुभएको छ ।
उहाँले चीनसँग खरिद गरिएको एक करोड खोपमध्ये थप ४४ लाख भेरोसेल खोप १० दिनभित्र ल्याइसक्ने जानकारी दिनुभयो । मन्त्रालयमा आइतबार विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय सम्मेलनबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा राज्यमन्त्री श्रेष्ठले थप ४४ लाख मात्रा खोपको भुक्तानी भइसकेको समेत बताउनुभयो ।
उहाँले १८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख डोज मोर्डना खोपको टुङ्गो लागिसकेको बताउनुभयो । राज्यमन्त्री श्रेष्ठले बाँकी ६० लाख डोज फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाइएको जानकारी दिनुुभयो । उहाँले नेपाली जनताका लागि पाँच करोड डोज खोप आवश्यक रहेकोमा अहिलेसम्म एक करोड चार लाख खोप नागरिकले लगाइसकेको जानकारी दिनुभयो ।
“सरकारले दुई करोड ५० लाख खोप ल्याउने तयारी गरिसकेको छ”, राज्यमन्त्री श्रेष्ठले भन्नुभयो, “भेरोसेल खोप ४० लाख आउने सुनिश्चित भइसक्यो, बाँकी खोप पनि निरन्तर आउने प्रक्रियामा रहेको छ ।”