काठमाडौँ, भदौ ३० गते ।आजदेखि हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । प्रत्येक विद्यार्थीले आ–आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले बताए ।
कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन गर्न लागिएको हो । परीक्षा असोज ८ गतेसम्म चल्ने छ । बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका र सङ्क्रमण पनि बिस्तारै नियन्त्रण हुने अनुमान गरी परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
यसअघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरिएकोमा बोर्डले अन्तिम समयमा आएर स्थगित गरेको थियो । यस पटक तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने जनाइएको छ । परीक्षामा विद्यार्थीलाई होम सेन्टर (विद्यार्थीले अध्ययन गरेकै विद्यालयमा परीक्षा दिने)को व्यवस्था मिलाइएको छ । विद्यार्थीलाई अरू विद्यालयमा परीक्षा दिन जानका लागि असुविधा हुन सक्ने भएकाले होम सेन्टरको सुविधा दिइएको हो । परीक्षामा यस पटक चार हजार ३१५ वटा परीक्षा केन्द्र तय गरिएको छ ।