काठमाडौ - प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो लहरको कोरोना महामारी नियन्त्रण एवम् रोकथामका लागि विज्ञहरुको सल्लाह अनुसार निषेधाज्ञा गरिएको बताए ।
देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वैशाख मसान्तसम्म गरिएको यो निषेधाज्ञा थप कडाइ हुने बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार दैनिक सात हजारभन्दा बढी नयाँ संक्रमित र ३ हजारभन्दा बढीको मृत्युु भइरहेको अवस्थामा नागरिकको जीवनरक्षा सरकारले पहिलो दायित्वको रुपमा लिइएको उनले बताए ।
गत वर्षको कोरोना महामारीमा संकट व्यवस्थापन केन्द्रीय निर्देशन समिति निर्माण गरी समयमै गरिएको लकडाउनका कारण कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुगेको प्रधानमन्त्री ओलीको भनाई छ ।
हालसम्म २१ लाखभन्दा बढीले कोरानाविरुद्दको खोप लगाइसकेको र दोस्रो डोजको खोप पनि ३ लाख ७० हजारले लगाइसकेको उनले बताए । दक्षिण एसियामै सरकारले पहिलो पटक खोपको पहल गर्न सफल भएको प्रधानमन्त्री ओलीले बताए ।