काठमाडौं । मधुमेह भएकी महिलाले बच्चा जन्माउन हुन्छ कि हुँदैन भन्ने जिज्ञासा हामीमध्ये धेरैमा हुनसक्छ । मधुमेह भएकै अवस्थामा महिलाहरुले बच्चाको योजना बनाउन नमिल्ने भन्ने होइन ।तर यस्ता महिलाहरुले फिजिसियन र प्रसूती रोग विशेषज्ञको सल्लाह अनुसार मात्रै बच्चाको योजना बनाउनुपर्ने हुन्छ ।
मधुमेह भएकी महिलाले चिकित्सकको सल्लाह बिना तथा कुनै योजना बिना नै बच्चा जन्माएको खण्डमा त्यसले आमा र बच्चा दुवैको स्वास्थ्यमा विभिन्न प्रकारको जटिलताहरु ल्याउने गर्छ । उच्च मधुमेह भएकी आमाले बच्चा जन्माउँदा बच्चामा विभिन्न प्रकारका शारीरिक जटिलताहरु देखा पर्न सक्छन् ।
मधुमेह भएका महिलाहरुले योजना बिना नै बच्चा जन्माउँदा त्यसले बच्चाको मुटु तथा दिमाखमा असर गर्न गम्भीर असर गर्न सक्छ । यस्ता महिलाहरुमा गर्भपतनको सम्भावना उच्च रहन्छ । साथै समयअनुसार बच्चाको तौल बढ्न नसक्ने तथा बच्चाको तौल आवश्यक भन्दा बढी हुनु यसका थप जटिलताहरु हुन्।
यस्ता आमाले बच्चा जन्माउने क्रममा उनीहरुको रगत बढी जाने तथा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । साथै आमाको आँखाको नानीमा हान्ने तथा मृगौलामा पनि असर गर्न सक्ने भएकोले पनि मधुमेह भएकी आमाले बच्चाको योजना बनाउँदा चिकित्सकको सल्लाह अनिवार्य रुपमा लिनुपर्ने हुन्छ ।
चिकित्सक कहाँ उपचारमा आउँदा त्यस्ता महिलाको रगतको परीक्षण गरिन्छ । रगत परीक्षणका क्रममा महिलामा सुगरको मात्रा १० प्रतिशत भन्दा बढी रहेमा त्यसले जटिलता निम्त्याउने गर्छ । सुगरको मात्रा १० प्रतिशत भन्दा बढी भएका महिलाहरुले बच्चा जन्माउँदा बच्चाहरुमा जटिलता आउन सक्ने सम्भावना उच्च रहन्छ । यस्ता महिलाहरुले बच्चाको योजना बनाउँदा शारीरिक अभ्यासमा पनि उतिकै ध्यान दिनुपर्ने हुन्छ, साथै मधुमेहको औषधि पनि चिकित्सकको सल्लाह बमोजिक खानुपर्ने हुन्छ । मधुमेह भएका गर्भवती महिला अन्य गर्भवतीहरु भन्दा बढी पटक परीक्षणमा आउनु अनिवार्य छ ।