काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दैं धनगढीमा सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्यस्थिति झन् जटिल बनेको छ।
सत्याग्रह शुरु गरेको आठ दिनदेखि मुखबाट पानीबाहेक अन्न तथा औषधी केही पनि नलिएका डा. केसीमा सोमबार पेटमा अल्सर भई आन्तरिक रक्तश्राव भएको आशंका गरिएको छ। चिकित्सकहरुले तत्काल उपचार नगरिए उनको ज्यान जोखिममा पर्नेतर्फ सजग गराएका छन्।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सोमबार जारी गरेको डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारीमा उनको स्वास्थ्य अवस्थाबारे उल्लेख छ– डा. केसीको शरीरमा अक्सिजनको मात्रा कम भएको छ । मांसपेशी सुक्दै गएको र दिसा कालो भएको हुनाले पेटमा अल्सर भई आन्तरिक रक्तश्राव भएको छ। पोषण तत्वहरु र पानीको मात्रा कम भई जटिलता बढ्दै गएको छ।
अस्पतालले डा. केसीको शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस तथा कम्पन हुनसक्ने, रोगसंग लड्न सक्ने क्षमता कम भई विभिन्न संक्रमण हुनसक्ने, मुटुुको धडकन, स्वासप्रस्वास र रक्तचापमा गडबड भई अंग र प्रणाली खराब हुनसक्ने वा ज्यान जोखिममा पर्न सक्नेतर्फ सजग गराएको छ।