अटिजम भन्नाले बालबालिकामा लाग्ने कुनै प्रकारको रोग होइन । यो एउटा मस्तिष्कको विशेष अवस्था मात्र हो। यो एक किसिमको जन्मजात विशेष अवस्था हो। अटिजमलाई रोग भन्नु भनेको अटिजमप्रतिको गलत बुझाई हो । अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भए पनि सामाजिक सिप, सञ्चार सम्बन्धी सिप, र सिकाइको क्षमता कम हुन्छ । संक्षेपमा भन्नुपर्दा, अटिजम भन्नाले बालबालिकाको मस्तिष्क विकासको क्रममा आउने समस्या हो भन्ने बुझ्नुपर्छ । अटिजमलाई न्यूरो डेभलपमेन्ट डिसअर्डर भनिन्छ ।
अटिजम हुनुमा ९० प्रतिशत वंशानुगत र १० प्रतिशतमा बाहिरि कारक तत्वहरू जिम्मेवार हुन्छन। बाहिरि कारक तत्वहरूलाई न्यूनीकरण गर्न सकीए अटिजम केही हद सम्म कम गर्न सम्भव हुन्छ।
- गर्भावस्थामा अत्यधिक तौल वृद्धि।
- गर्भवती आमाको अनियंत्रित थायराइड र डायबिटीजको समस्या।
- गर्भवती आमाको धूम्रपानको लत, गर्भावस्थामा इन्फ्लुएन्जा संक्रमण।
- गर्भवती आमामा रक्त अल्पता, भिटामिन डी र ओमेगा ३ फ्याटी एसिड को कमी।
- गर्भावस्थामा फोलिक एसिड को पूरक मात्राको कमी।
- छोटो जन्मान्तर,आमा र बुवाबीच धेरै उमेरको अन्तर, बुवाको पाको उमेर, आमाको कम वा पाको उमेर।
- कीटनाशक औषधी प्रयोग गरिएको खाद्य पदार्थ, वातावरणीय प्रदूषण।
- शिशुमा जन्मजात थायराइडको कमी।
अटिजमको सामान्य लक्षणहरु
- एक्लै खेल्न मन पराउने
- आँखा जुधाउन नसक्नु
- अस्वभाविक रुपमा हाँस्ने वा कराउने,
- उमेर अनुसार बोली नफुट्ने,
- आफू समान उमेरसमूहका साथीहरूसँग घुलमिल हुन मन नपराउने
- घाउचोट लाग्दा दुखाई महशुस नहुनु,
- सामान्य दुखाई हुँदा चिच्याएर रुने कराउने गर्नु
- साङ्केतिक भाषाको प्रयोग गर्न नसक्नु
- उमेर अनुसार बौद्धिक क्षमता उत्कृष्ट नहुनु
- ठूलो आवाज सुन्दा कान थुन्ने
- झर्को लागेको जस्तो व्यवहार देखाउने
- एउटै मात्र खेलौना खेलिरहनु
- सामान्य शिक्षण विधिबाट पठनपाठन गर्न नसक्नु