काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार पछिल्लो एक सातायता कञ्चनपुरमा कोरोना संक्रमण बढेको छ । बुधबार मात्रै कञ्चनपुरमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सङ्क्रमित हुनेमा अधिकांश भारतबाट नेपाल फर्किनेहरु छन।
पहिला जस्तो सिकिस्त बिरामी पर्ने खालको देखिएको छैन तर अहिले सीमानाका गड्डाचौकीमा भारतबाट फर्किनेमा कोरोना संक्रमण जाँच भइरहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन शिद्धराज भट्टले बताए।
यहाँको बेलौरी नगरपालिकामा सबैभन्दा बढी सङ्क्रमित देखिएका छन। जिल्लामा जम्मा सक्रिय सङ्क्रमित २६ जनामध्ये २४ जना बेलौरीकै छन् । बैलौरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयसिंह बोहराले सङ्क्रमित हुने अधिकांश भारतबाट आएका रहेको बताए।
“बुधबार शङ्कास्पद १६ जनाको परीक्षण गर्दा नौ जनामा संक्रमण देखिएको छ।” उनले भने–“अहिले शङ्कास्पद बिरामीको मात्रै परीक्षण गर्ने गरेका छौँ।”
गड्डाचौकी हेल्थ डेस्क प्रमुख प्रिति बोहराले भारतबाट आउनेमा कोरोना संक्रमण देखिएको बताए। “बुधबार तीन जनामा संक्रमण देखिएको छ।” उनले भने–“अहिले घर फर्किनेको सङ्ख्या कम छ।” बुधबार नाकामा एक सय ४९ जनाको कोरोना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको हो। अहिले कञ्चनपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ रहेको छ।