काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले सूर्तीजन्य पदार्थमा लाग्ने कर बढाउनका लागि पहलकदमी लिने बताएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयमा सञ्चारकमीहरुसँग स्वास्थ्य क्षेत्रमा सुधारका विषयमा सुझाव संकलन अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सूर्तीजन्य पदार्थको बिक्री वितरणमा नेपालमा लाग्ने कर विश्वमै कम भएको बताउँदै यसमा कर बढाएर त्यहाँबाट प्राप्त भएको रकमलाई स्वास्थ्य क्षेत्रमा लगानी गर्न सकेको अवस्थामा स्वास्थ्य क्षेत्रमा केही सुधार गर्न सकिने धारणा राखेका थिए । नेपालमा हाल सूर्तीजन्य पदार्थमा करिब ३५ प्रतिशतसम्म कर लाग्दै आएको छ, जबकि विश्व स्वास्थ्य संगठनले सूर्तीजन्य पदार्थको बिक्रीवितरणमा ७५ प्रतिशतसम्म कर लगाउन सकिने कानुनी व्यवस्था गरेको छ ।
सूतीजन्य पदार्थबाट आएको कर मुलुकका विभिन्न क्यान्सर तथा सरकारी अस्पतालहरुको स्तरोन्नतीमा प्रयोग गर्न सकिने उनको धारणा थियो । आर्थिक संकट तथा स्वास्थ्य क्षेत्रमा बजेट घट्दै गएको वर्तमान अवस्थामा करबाट प्राप्त रकमले पनि केही राहत दिन सक्ने उनको दाबी थियो ।
अझै पनि गुणस्तरीय स्वास्थ्य सेवा सम्पूर्ण मानिसको पहुँचमा पुग्न सकेको छैन स्वास्थ्य बिमामा रहेका विभिन्न समस्याहरुलाई सम्बोधन गरी उपचार सेवा दिन सकेको अवस्थामा स्वास्थ्य सेवाको पहुँच अधिकांश मानिसहरुमा पु¥याउन सकिने मन्त्री बस्नेतको धारणा थियो। नेपाल प्राकृतिक विपत धेरै आइपर्ने मुलुक मध्येमा पर्छ त्यसकारण त्यस्ता विपतहरुलाई थेग्न सक्ने अवस्थामा स्वास्थ्य संरचनाहरु तयारी अवस्थामा राख्न आवश्यक रहेको मन्त्री बस्नेतको धारणा थियो ।