काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य उपचार नपाएर अकालमै मर्नुपर्ने अवस्थाको अब अन्त्य हुने बताएका छन् ।
सिन्धुपाल्चोकको हेलम्बु- ३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले गरिबले अस्पतालमा गएर उपचार गर्नसक्ने अवस्था नभएको भन्दै यो अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता जनाएका हुन्।
उनले अहिलेको समयमा पनि थुन्से र डोकोमा हालेर अस्पतालमा लैजान बाध्य भएको भन्दै सुर्तीजन्य पदार्थमा कर बढाई सो करबाट गरिबलाई निःशुल्क उपचार गर्ने व्यवस्था ल्याउन लागिएको बताए।
उनले आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यहरूले निःशुल्क पढ्न पाउनुपर्छ भनेर अभियान चलाइने र अभियान सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाबाट शुरु भइसकेको पनि बताए।
मन्त्री बस्नेतले पाल्चोक मन्दिरलाई व्यवस्थित र आकर्षित बनाउने तथा पाल्चोकलाई पर्यटकीय गन्तव्य बनाउने प्रतिवद्धता जनाए । साथै पाल्चोकमा स्वास्थ्य चौकीको भवन व्यवस्थित नभएको बताउँदै यसको लागि पहल गर्ने बताए।