सिन्धुली । गर्भवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको सिन्धुली अस्पतालको सेवा सञ्चालन गर्न पीडित पक्ष र अस्पतालबीच तीन बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा घटनाको सत्यतथ्य छानबीन गर्न चार सदस्यीय छानबिन समिति तत्काल गठन गर्ने सहमति भएको छ ।
समितिमा बागमति प्रदेश मन्त्रालयबाट तोकिएका चिकित्सक दुई जना, जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको प्रतिनिधि एक र पीडितपक्षबाट आमन्त्रित एक जनाको समिति बन्ने प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।
जिल्ला अस्पतालले आन्तरिक सुधार तथा सम्बद्ध स्वास्थ्यकर्मीको व्यवहारगत पक्ष सुधार गर्ने, अस्पताल प्रशासनले अस्पतालको सेवा सञ्चालन गर्ने र पीडित पक्षले शव बुझी अन्त्येष्टी गर्ने सहमति भएको उनले बताए ।
पीडितको पक्षबाट मृतकको जेठाजु सोमबहादुर श्रेष्ठ र काका तुलबहादुर गुरुङले हस्ताक्षर गरेका छन् भने अस्पतालका तर्फबाट अस्पताल विकास समिति अध्यक्ष सतिश ढकाल र निमित्त मेडिकल सुपरिटेन्डेन उमेश प्रधानले हस्ताक्षर गरेका छन् ।समितिका अध्यक्ष ढकालले बुधबार अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न नसकिने बताए । ओपिडी कक्षमा तोडफोड भएकाले सरसफाई र मर्मत गर्नुपर्ने भएकाले उनले आकस्मिक सेवा मात्रै सञ्चालन गरिने बताए ।