काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालले आकस्मिक सेवाको स्तरोन्नति गरेको छ।
अहिलेसम्म १५ शय्या रहेकोमा अब आकस्मिक सेवामा ३० शय्या पुर्याइएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.बद्री चापागाईंका अनुसार शय्या थपेपछि बिरामीलाई राहत पुगेको छ।
बिरामीले ‘आइसोलेसन’ सहितको सुविधा पाउने छन् । एक्सरे, प्रयोगशाला, शौचालय लगायत अन्य सुविधा पनि बिरामीलाई उपलब्ध हुने उनले जानकारी दिए । करीब ३४ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको नयाँ भवन असार मसान्तसम्म पूरा भएपछि अस्पतालमा शय्याको क्षमता बढाएर ३०० पुर्याइने डा.चापागाईंकोे भनाइ छ ।
आकस्मिक कक्षमा बिरामीको अवस्थाअनुसार रातो, पहेंलो र हरियो गरी शय्या तथा स्थान वर्गीकरण गरिएको छ । बिरामीको मृत्यु भइहालेमा शव व्यवस्थापन गर्न ब्ल्याक रुमको व्यवस्था गरिएको छ । सरकारको संघीय योजना कार्यान्वयन एकाइबाट भवन निर्माणको काम भइरहेको छ ।
यसअघि शय्या अभावका कारण बिरामीले आकस्मिक कक्षमा सास्ती भोग्दै आएका थिए ।