काठमाडौं। निजामती कर्मचारी अस्पताल स्तरोन्नति हुने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेलले चाँडै नै २ सय ५० श्यया सञ्चालन गरेर अस्पताललाई स्तरोन्नति गरिने बताए।
अस्पतालमा हाल १ सय ३२ श्यया सञ्चालन रहेको छ। ‘सबै संरचना तयार भइसकेको छ । नयाँ जनशक्ति चाँडै परिपूर्ति गरेर अस्पताललाई २ सय ५० श्ययामा सञ्चालन गर्नेछौँ’, उनले भने, ‘अस्पतालको स्तरोन्नतिसँगै सेवा पनि विस्तार गरिनेछ।’ एक हप्ताभित्रमा उच्च प्रविधिको अत्याधुनिक ‘एमआरआई’सेवा सुरु गर्ने उनले बताए।
उनका अनुसार अत्याधुनिक एमआरआईले जटिल किसिमको रोगको पत्ता लगाउनका लागि परीक्षण गर्दछ। एमआरआईको प्रयोगबाट ब्रेन ट्युमर, पेट, नशा र जटिल रोगको परीक्षण हुन्छ । उक्त एमआरआई उपकरणबाट शरीरको साना–साना नशा, सानो रगत नली बन्द हुने, मुटुको एमाआइआई, पित्तनली भएका साना पत्थरी, हड्डी खिइएको जस्ता कुराका पत्ता लाग्नेछ।
निजी अस्पतालमा उक्त सेवा भए पनि सरकारी अस्पतालमा पहिलो भएको उनको भनाइ रहेको छ। अस्पतालका निर्देशक डा. पौडेलले एमआरआईमा हेलियस ग्याँस भरेपछि सञ्चालन गरिने बताए। २२ करोडमा खरिद गरिएको उक्त एमआरआई उपकरण दुई महिनाअघि मात्र ल्याइएको छ।