काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत सूर्तीजन्य पदार्थको कर बढाउने निर्णयमा असफल सावित भएका छन् । स्वास्थ्यमन्त्रीको पद बहाली गरेपश्चात् जुनसुकै सभा समारोह वा पत्रकार भेटघाट कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा उनले सूर्तीजन्य पदार्थमा लाग्ने कर बढाउने बताएका थिए ।
सूर्तीजन्य पदार्थको करबापत आएको रकम क्यान्सर बिरामीहरुको उपचारमा प्रयोग गर्ने नीति ल्याउने मन्त्री बस्नेतले बताउँदै आएका थिए । सोमबार संघीय संसदमा प्रस्तुत भएको बजेट भाषणले सुर्तीजन्य पदार्थमा लाग्ने कर घट्ने उल्लेख गरेपश्चात् स्वास्थ्य मन्त्री उनको पहिलो निर्णय कार्यान्वयनमा नै फेल खाएका छन् । उनको भाषण कुरामा नै सीमित भइदिएको छ ।
हाल नेपालमा सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा ३३ प्रतिशत कर लाग्दै आएको अब करिब २७ प्रतिशत हुने बताइएको छ । स्वास्थ्य क्षेत्रका विभिन्न विज्ञ तथा सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा कर बढाउनुपर्ने मान्यता राख्दै आएका व्यक्ति तथा संस्थाले बजेट भाषणको विरोध गर्दै आइरहेको छ ।