काठमाडौ। महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको एउटै वडामा एक सय ५० बढी गाईगोरुमा लम्पीस्किन रोग देखापरेको छ । बर्दिबास–१० खयरमारामा स्थानीयले पालेका गाईगोरुमा लम्पीस्किन रोग देखिएको स्थानीय पशुपालक कृष्णबहादुर थापाले बताए।
उनका अनुसार विगत १०–१५ दिनदेखि गाउँमा रोगले समस्या हुँदै गएको र अहिलेसम्म १० वटा पशु मरिसकेका छन्।केही दिनदेखि पशुको छालामा अचानक नयाँ खालको संक्रमण देखिन थालेको, जीउभरि गिर्खा आउन थालेको, घाउजस्तो भएर पिप बग्न थालेको, उच्च ज्वरोलगायतका लक्षण देखिएको र अहिलेसम्म १० पशु मरिसकेको स्थानीय पशुपालक वीरेन्द्र थापाले बताए।
बर्दिबास नगरप्रमुख प्रल्हदकुमार क्षेत्रीले खयरमाराका पशुमा लम्पीस्किन देखिएको र यसको रोकथाम र उपचारका लागि पशु चिकित्सकसँग परामर्शसहित आवश्यक औषधिको व्यवस्थापन गर्न लागेको बताए ।
महोत्तरीमा रहेको १५ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा लम्पीस्किन रोग फैलिएको जनाइएको छ । जिल्लाभर यस रोगबाट अहिलेसम्म करिब २० गाईगोरु मरेका छन् ।