काठमाडौं । नेपाल क्यान्सर हस्पिटलका मेडिकल निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा.बिज्रेश राज घिमिरेले सूर्तीजन्य पदार्थको सेवन नगर्ने हो भने एक तिहाई मानिसहरु क्यान्सरको जोखिमबाट बँच्न सक्ने बताएका छन् ।
बुधबार नेपाल क्यान्सर हस्पिटलमा आयोजित ४२ सरभाईबर मिटमा बोल्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार ८५ प्रतिशत फोक्सो तथा ८० प्रतिशत घाँटी र नाकको क्यान्सरको कारण सूर्तीजन्य पदार्थको सेवन हो ।
कार्यक्रममा बोल्दै नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरका अध्यक्ष डा.सुदीप श्रेष्ठले नेपालमा क्यान्सर रोगको उपचारमा नेपाल क्यान्सर हस्पिटलले सामाजिक जिम्मेवारी अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको बताएका छन् ।
क्यान्सर रोगको मुख्य कारण सूर्तीजन्य पदार्थको प्रयोगको विरोधमा अस्पतालले विभिन्न प्रकारका कार्यक्रमहरु गर्दै आएको उनी बताउँछन् । हस्पिटलले स्कुलका विद्यार्थीहरुलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।
कार्यक्रममा क्यान्सर रोगको सचेतनाका लागि नाटक समेत प्रस्तुत गरिएको थियो । क्यान्सर रोगको उपचार गराइरहेका सुन्दर राज श्रेष्ठले क्यान्सर रोग लागिसकेपछि त्यसको उपचारमा आफूले भोग्नुपरेको समस्या कार्यक्रममा प्रस्तुत गरेका थिए ।