काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटुरोग,श्वासप्रश्वाससम्बन्धी दीर्घरोग र मधुमेहजस्ता नसर्ने रोग निम्त्याउने गरेको बताएका छन् ।
विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । सुर्तीजन्य पदार्थको असरलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी ऐन, कानुन पारित भई लागू भइसकेको उनले बताए । उनले स्वास्थ्य क्षेत्र सुधारका लागि कार्ययोजना बनाउन कर्मचारीलाई सुझाव दिँदै यसमा आफ्नो पूर्ण साथ रहने बताए ।
मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थको सेवनको लत छुटाउने कार्यक्रमलाई पहुँचयोग्य बनाउन, सुर्तीजन्य पदार्थमा कर बढाउन र उक्त सङ्कलित करबाट आर्थिक रूपमा विपन्न नागरिकको उपचार खर्च गर्ने कार्य प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक रहेको बताए ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनको कारण विश्वभर ८० लाख मानिसको मृत्यु हुने गरेको छ । मन्त्रालयका अनुसार नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ ।