काठमाडौं । सरकारी अनुगमनको अभावका कारण आजकाल बजारमा विषादीयुक्त आपँको बिक्रीवितरण खुल्लारुपमा हुने गरेको छ ।
सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका छन् । नाफा कमाउन समयभन्दा पहिला नै आँप बजारमा बेच्न थालिएको छ ।व्यापारीले पाक्नुभन्दा अघिनै रूखबाट आँप टिप्ने र अत्यधिक विषादी प्रयोग गरेर बेच्न राख्ने गरेको पाइएको छ ।
विषादी प्रयोग गरिएका आँप खाँदा स्वास्थ्य असर पर्ने जोखिम छ । भारतसितको खुला सीमाका कारण व्यापारीले सस्तोमा काँचो आँप नेपाल भित्र्याउने गरेका छन् ।
काँचो आँप ल्याउने र कार्बाइडको प्रयोगबाट पाकेका आँप बजारमा बेच्ने प्रवृत्ति मौल्याएको हो । आँपमा विषादी प्रयोग गरिँदा छिटो पाके पनि यस्तो आँप खानु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सक बताउँछन्।
यस्तो आँपको स्वाद पनि राम्रो नहुने र स्वास्थ्यलाई फाइदा नर्पुयाउने स्वास्थ्य विज्ञहरु बताउँछन्। विषादी मिसाएको आँप खानाले झाडापखाला लाग्ने, जीउ चिलाउने, वान्ता हुने जस्ता समस्या देखिने बताए।विषादीयुक्त आँप बजारमा बेच्न थालेसँगै झाडापखाला, वान्तालगायतका बिरामी अस्पताल आउने क्रम बढेको छ।