काठमाडौं । भारतको पूर्वी क्षेत्रमा पर्ने उडिसा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी कम्तिमा पनि २३३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दी सेवाले जनाएको छ ।
भारतीय रेलवेलेका अनुआर कोरोमण्डल एक्सप्रेस र हावडा सुपरफास्ट एक्सप्रेस आपसमा ठोक्किएका थिए । शुक्रबार बेलुका ७ बजे दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।
हावडा जाँदै गरेको बेंगलुरु(हावडा ट्रेनका धेरै डिब्बा बालासोर जिल्लाको बहनागा बजारमा पटरीबाट खसेको अधिकारीहरुले जनाएका छन् । त्यसपछि, शालिमार(चेन्नई सेन्ट्रल कोरोमण्डल एक्सप्रेस पटरीबाट खसेको रेलसँग ठोक्किएको थियो र कोरोमण्डल एक्सप्रेसका डिब्बा पनि पल्टिएको अधिकारीहरुले जनाएका छन् । त्यसपछि एउटा मालगाडी कोरोमण्डल एक्सप्रेसका केही पटरीबाट खसेका कोचहरूसँग ठोक्किन गएको अधिकारीले भनेका छन् ।
दुर्घटनापछि रेलमन्त्री अश्विनी वैष्णवले मृतकका आफन्तलाई १० लाख, गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उडिसाको बालासोर जिल्लामा भएको रेल दुर्घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले रेल दुर्घटनामा परी ज्यान गुमाएकाका आफन्तलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोष बाट ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।
भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उडिसा रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।