काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्लास्टिकजन्य प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि दृढ संकल्प गर्ने समय आएको बताएकी छन्।
विश्व वातावरण दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले प्लास्टिकजन्य फोहरको उचित व्यवस्थापन र पुनः प्रयोगलाई सुनिश्चित गर्न फोहर संकलन तथा व्यवस्थापन पूर्वाधारलाई सुदृढ गर्नुपर्नेमा जोड दिइन्।
पूर्वराष्ट्रपति भण्डारीले वातावरण प्रदूषणका विभिन्न कारणले मध्ये प्लास्टिक पनि भएको र यो वातावरण र मानव जीवनका लागि ठूलो खतराको रूपमा देखा परेको बताइन्।
‘‘हाम्रा नदी, ताल–पोखरी, हिमाल, पहाड र सहर प्लास्टिकको बढ्दो उपस्थितिले फोहर र कुरुप बन्दैछन्, जसबाट हाम्रो पारिस्थितिकीय प्रणाली, वन्यजन्तु र मानव स्वास्थ्यका लागि गम्भीर खतरा उत्पन्न भएको छ’, उनले भनिन् । उनले यति हुँदाहुँदै पनि यो निराशाको समय नभएको बरु समस्याको दिगो समाधानका लागि दृढ संकल्प गर्ने समय भएको बताइन् ।