काठमाडौं । प्रतिनिधिसभा सदस्य अच्युतप्रसाद मैनालीले वीरगञ्जमा अवस्थित नारायणी उप–क्षेत्रीय अस्पतालले एमआरआई मेसिन खरिदमा अनियमितता गरेको आरोप लगाएका छन् । बुधबारको संसद बैठकको शून्य समयमा बोल्दै उनले अस्पतालले १० करोड रुपैयाँ पर्ने एमआरआई मेसिन ३० करोडमा किनेको भन्दै उनले विरोध जनाए ।
‘नारायणी उप–क्षेत्रीय अस्पतालमा खरिद गरिएको एमआरआई मेसिन निजी क्षेत्रबाट किन्दा १० करोडमा पाइन्छ, तर उसले ३० करोडमा किन्यो,’ उनले भने, ‘त्यो पनि पछिल्लो ३ महिनायता प्रयोगविहीन अवस्थामा फालिएको छ । यो अत्यन्त लापरवाहीको म घोर निन्दा गर्छु । र, सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछु ।’
देशका विभिन्न स्वास्थ्य संस्थामा खरिद गरिएका उपकरणहरू प्रयोगविहीन अवस्थामा रहेकाले सम्बन्धित निकायले यसप्रति ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनले मधेशमा दिनप्रति दिन बढिरहेको गर्मी र त्यसले जनजीवनमा पुर्याउने क्षतिबारे पनि सरकारको ध्यानाकर्षण गराए ।