काठमाडौं । वीर अस्पतालले राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापना गरेको छ। ब्रेन ट्युमर भएका बिरामीको एकै ठाउँमा सहज र प्रभावकारी उपचार हुने उद्देश्यका साथ वीर अस्पतालले राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापना गरेको हो।
सेन्टरको स्थापनासँगै एक साताका लागि ब्रेन ट्युमरका बिरामीको नि :शुल्क शल्यक्रिया हुने बताइएको छ । सेन्टरको स्थापनाले ब्रेन ट्युमर भएका बिरामीको सहज, गुणस्तरीय र छिटो उपचार सम्भव हुने वीर अस्पतालका न्युरो सर्जरी विभागका प्रमुख प्राडा राजीव झाले बताए ।
डा झाका अनुसार अस्पतालमा अधिकांश बिरामी ट्युमर ठूलो भइसकेपछि मात्र उपचारका लागि पुग्ने गरेका छन्। रोग जटिल भएपछि बिरामीलाई बचाउन असम्भव जस्तै हुने डा. झाले बताए।
उनले भने, ‘विकसित मुलुकमा ट्युमर सानो हुँदा नै अधिकांश बिरामीको ट्युमर हो वा होइन भनेर पत्ता लागिसकेको हुन्छ। तर वीर अस्पतालमा भने ट्युमर ठूलो भएपछि मात्र अधिकांश बिरामी आउने गरेका छन्।’वीर अस्पतालमा ब्रेन ट्युमरको मात्रै ७०० भन्दा बढी शल्यक्रिया भइसकेको डा.झाले बताए ।