काठमाडौं । धनुषाको नगराइन नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको छ । आज नगराइनमा आयोजित पूर्ण खोप नगर घोषणा सभामा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले पूर्ण खोपयुक्त नगर घोषणा गरे ।
सो अवसरमा मन्त्री सिंहले मधेस प्रदेशमा स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसङ्गती हटाएर जनतालाई सहज एवम् सर्वसुलभ स्वास्थ्य सेवा दिनु सरकारको दायित्व भएको बताए ।
नगराइनका प्रमुख प्रशासकीय अधिकृत रामगुलामलाल कर्णले नगरक्षेत्रमा रहेका पाँच वर्ष मुनीका सबै बालबालिकालाई खोप लगाइसकेपछि पूर्ण खोपयुक्त नगर घोषणा गरिएको जानकारी दिए ।
यसअघि जिल्लाका क्षिरेश्वरनाथ नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मिनिया गाउँपालिका, कमला नगरपालिका, सहिदनगर नगरपालिका, मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, धनौजी र औरही गाउँपालिकालाई पूर्णखोपयुक्त पालिका घोषणा गरिएको थियो ।