काठमाडौं । सरकारले औषधिजन्य पदार्थको बिक्रीवितरणबाट वार्षिक रुपमा १ अर्ब ५९ करोड कर संकलन गर्दै आइरहेको छ ।
आइतबार स्वास्थ्य पत्रकार मञ्च नेपालको आयोजनामा भएको पत्रकारसँगको अन्र्तक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै औषधि उत्पादक संघका पूर्व अध्यक्ष दीपक दाहालले सरकारले औषधिबाट वार्षिक रुपमा १ अर्ब ५९ करोड कर संकलन लिदैं आएको बताएका हुन् ।
उनका अनुसार हाल नेपालमा ८३ वटा औषधि उद्योग संचालनमा रहेका छन् । त्यस्तै करिब ३९ नयाँ उद्योग स्थापनाको क्रममा रहेको दाहालले बताए । नेपालका औषधि उद्योगहरुले वार्षिक रुपमा ७ अर्बको कच्चा पदार्थ आयात गरी करिब ३० अर्बको औषधि उत्पादन गर्दै आएको छ ।
यदि औषधि उद्योगलाई आवश्यक कच्चा पदार्थ उपलब्ध भएको अवस्थामा ८५ प्रतिशत औषधि उत्पादनका लागि नेपाली औषधि उद्योगहरु सक्षम रहेको दाहालको दाबी थियो । कच्चा पदार्थ उपलब्ध भएको अवस्थामा नेपाली औषधि उद्योगलाई आत्मनिर्भर गराउने सुकिने दाबी गर्दै उनले छिमेकी मुलुक भारत विश्वमा नै औषधि निर्यात गर्ने मुलुकहरुको १० औं स्थान पर्ने बताए ।
हालसम्म नेपाल ५५ औषधिमा मात्र आत्मनिर्भर रहेको उनको भनाइ थियो ।