काठमाडौं। आठ वर्षीय एक बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई जिल्ला अदालतले १२ वर्ष ६ महिना जेल सजाय तोकेको छ।
अप्राकृतिक मैथुन गरेको पुष्टी गर्दै जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले सो कैदसँगै रु ४० हजार जरिवानासमेत भराउन आदेश दिएको अदालत इजालाश अधिकृत गंगाधर सापकोटाले जानकारी दिए।
निज रानाले २०७९ साउन २० गते अप्राकृतिक मैथुन गरेको अभियोगमा पीडित बालकका अभिभावकले साउन २२ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । प्रहरीले सोही दिन उनलाई आफ्नै घरबाट पक्राउ गरेर भदौ १३ गते उक्त अदालत बागलुङमा मुद्दा दर्ता गरेको थियो।