काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य लाभ गरी स्वदेश फर्किएका छन्। चीनमा उपचार गराइरहेका पुन एयर चाइनाको नियमित उडानमार्फत आज (शुक्रबार) बिहान नेपाल आएका हुन्।
पुनका साथमा पूर्वसभामुख एवं उनकी पत्नी ओनसरी घर्ती पनि स्वदेश फर्किएका हुन् । पुनलाई स्वागत गर्न माओवादी केन्द्रका वरिष्ठ नेता एवं उपप्रधान र गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेताहरु झक्कु सुवेदी, जयपुरी घर्ती, दुर्गा चापागाईं, हिमाल शर्मालगायत अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित पुनको स्वास्थ्य अवस्था निकै जटिल बनेपछि गत १ फागुनमा चीन लगिएको थियो। उनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो।