काठमाडौं । सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकमा ४० प्रतिशत नागरिक आबद्ध भएका छन्।
जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका अनुसार ४० दशमलव १२ प्रतिशत अर्थात् एक लाख ४६ हजार ७४ नागरिक स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन्।
राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल जनसङ्ख्या तीन लाख ६४ हजार ३९ मध्ये ७० हजार छ सय १७ पुरुष र ७५ हजार चार सय महिला सरकारी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन्। बोर्डका दर्ता अधिकारी सरस्वती सिग्देलका अनुसार बनेपा नगरपालिकामा सबैभन्दा बढी र खानीखोला गाउँपालिकामा सबैभन्दा कम नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । जिल्लामा१३ स्थानीय तह छन्।
हालसम्म बनेपा नगरमा २९ हजार दुई सय ६६, धुलिखेल नगरमा २८ हजार नौ सय, पनौती नगरमा २४ हजार सात सय एक जना, पाँचखाल नगरमा १७ हजार पाँच सय ६२ र मण्डनदेउपुर नगरमा १३ हजार चार सय ३३ नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन्।