काठमाडौँ । बाँकेमा बालबालिकालाई लगाइने विभिन्न खोप कार्यक्रम सहरमा भन्दा गाउँमा प्रभावकारी देखिएको छ। बालबालिकालाई लगाइएको खोपमध्ये राप्ती सोनारी गाउँपालिकामा एक जना मात्रै छुटेको छ भने नेपालगञ्ज उपमहानगरपालिकामा एक सय ७७ खोप लगाउन छुटेको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ।
जिल्लाको खजुरा गाउँपालिकामा चार, जानकी गाउँपालिकामा एक र डुडुवा गाउँपालिकामा एक बालबालिकाले खोप लगाउन छुटेको तथ्याङ्कले देखाएको छ।
तर कोहलपुर नगरपालिका, बैजानाथ गाउँपालिका र नरैनापुर गाउँपालिकामा बालबालिकाले पूर्णरूपमा सबै प्रकार खोप लगाएका छन् । बालबालिकालाई लगाइने सबै प्रकारका खोप नलगाएको (ड्रप आउट) नेपालगञ्ज उपमहानगरपालिकामा सबैभन्दा बढी छ सय ९२ बालबालिका रहेका छन्।
उनीहरूले केही खोप मात्रै लगाएका छन् । सबै प्रकारका खोप नलगाउने बालबालिका राप्ती सोनारीमा ५२, कोहलपुरमा ११, बैजनाथमा १८, खजुरामा एक सय ३१, जानकीमा ९५, डुडुवामा ३४, नरेनापुरमा दुई सय ६८ रहेको स्वास्थ्य कार्यालय, बाँकेले बताएको छ ।