काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी तथा बर्खायाम सुरु भएदेखि बालबालिकालाई झाडापखाला र हैजाबाट बचाउन आग्रह गरेको छ । मन्त्रालयले आज सूचना जारी गरी गर्मी तथा बर्खायाम सुरु भएदेखि बालबालिकालाई झाडापखाला र हैजाबाट बचाउन अभिभावक सबैलाई आग्रह गरेको हो।
मन्त्रालयले सधैं पानी उमालेर वा क्लोरिन झोल प्रयोग गरेर मात्र पिउन, व्यक्तिगत सरसफाइमा ध्यान दिन, बासी तथा सडेगलेका खानेकुरा नखान, काँचो खान मिल्ने फलफूल र तरकारीको सरसफाइमा विशेष ध्यान पुर्याउन आग्रह गरेको छ।
यसैगरी, खानालाई छोपेर राख्न र खुला रुपमा दिसापिसाव नगर्न, चर्पीको अनिवार्य प्रयोग गर्न र दिसापिसाव गरिसकेपछि साबुनपानीले हात धुनसमेत आग्रह गरिएको छ । मन्त्रालयले बालबालिकालाई हैजा तथा झाडापखाला लागेमा घरमा नै उपचार गर्नसमेत आग्रह गरेको छ।
पखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोलेर पटक पटक खुवाउन आग्रह गरिएको छ । बालबालिकालाई प्रशस्त मात्रामा सफा तथा झोल खानेकुरा खुवाउन, नरम तथा पच्ने खानेकुरा खुवाउन, जिङ्क चक्कीको मात्रा नबिराईकन खुवाउन र सरसफाइमा ध्यान दिन अभिभावकलाई आग्रह गरिएको छ ।