काठमाडौं । विशाल औषधी निर्माता कम्पनी गिलियडलाई एड्स हेल्थ केयर फाउन्डेशन (ए.एच.एफ) ले उपभोक्ताको जीवनलाई ध्यानमा राखेर औषधिको बिक्री वितरण गर्नका लागि सुझाव दिएको छ।
गिलियड कम्पनीद्वारा उत्पादन हुँदै आएको विभिन्न औषधीहरुमध्ये एचआईभी र हेपाटाइटिस सीका औषधिहरु निम्न आयका भएका मुलुकका जनताको पहुँचमा पुग्न नसकेका कारण ए.एच.एफले उक्त कम्पनीलाई मानिसको जीवनलाई मुनाफाभन्दा बढी प्राथमिकता दिनका लागि सुझाव दिएको हो।
विश्वकै शीर्ष १५ औषधि कम्पनी मध्येमा पर्ने गिलियड औषधि कम्पनीले २७ अर्ब डलरभन्दा बढी मुनाफा आर्जन गरिसकेको छ। सन् २०२१ मा मात्रै यस कम्पनीले आफ्नो सीईओलाई १९ मिलियन डलरभन्दा बढी भुक्तानी दिएको थियो।
जीवनरक्षक औषधिहरुको मुल्य अत्याधिक निर्धारण गरिएको तथा यसले निम्न आय भएका देशहरुमा केही औषधिहरु दर्ता गर्न इन्कार गरेका कारण ए.एच.एफले औषधि कम्पनीको उक्त रवैयाको विरोध गरेको ए.एच.एफका कन्ट्री प्रोग्राम मेनेजर दिव्य राज जोशीले बताए। उनका अनुसार ए.एच.एफले उक्त औषधी कम्पनीको यस कार्यको विरोधमा विश्वव्यापी रुपमा नै विभिन्न प्रकारका विरोधका कार्यक्रमहरु गरिरहेको जोशीले बताए।