काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनपछि वीर अस्पतालले आजैदेखि लागु हुने गरि अस्पतालका ७ सय शय्या निःशुल्क गरेको छ ।
बिहीबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति सहित रेक्टर, रजिष्ट्रार र डिन नियुक्ती गरेपछि न्याम्सको सहकुलपतिको हैसियतले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले न्याम्सका उपकुलपति सहित पदाधिकारीलाई मन्त्रालयका बोलाएर वीर अस्पतालका सबै जनरल वार्ड निःशुल्क गर्न निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनपछि शुक्रबार न्याम्स पदाधिकारीको बैठकले क्याविन र आईसियू बाहेक वीरका सबै ७ सय वटै शय्या निःशुल्क गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालयले राजधानीमा शुक्रबार आयोजना गरेको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांक सार्वजनिकिरण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले भने, स्वास्थ्य मन्त्री र न्याम्सको सहकुलपतिको हैसियतमा हिजै न्याम्सका पदाधिकारीलाई बोलाएर वीर अस्पतालका ७ सय वटै जनरल वार्ड निःशुल्क गर्न निर्देशन दिएको थिए । आज निर्णय भएर कार्यन्वयनमा आयो । जनताका पक्षमा काम गर्न सकेकोमा खुशी लागेको छ ।’
वीर अस्पतालमा यो भन्दा पहिले जनरल बेडको शुल्क दैनिक रु. २०० लाग्ने गरेको थियो । दैनिक २०० रुपैया तिर्न पनि बिपन्न विरामीलाई हम्मे हम्मे पर्दथ्यो । ७०० शैया निःशुल्क भएपछि वीरलाई करिव ६ करोड भार थपिने छ ।